‘जय हो’को कलेक्शन निराशाजनक, नेपालमा पनि फापेनन् सलमान
बक्स अफिसको राजा भनेर गनिएका बलिउड नायक सलमान खानको १३ महिना पश्चात प्रदर्शनमा आएको सिनेमाको कलेक्शनले निराशा छाएको छ । भारतमा सलमानको सिनेमाले ४३ सय पर्दा पाएको छ । यो आमिर खानको ‘धुम ३’ भन्दा ३ सय बढि र साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले पाएको पर्दा भन्दा ८ सय बढि हो ।
तर १३ महिना पछि नयाँ सिनेमा प्रदर्शनमा आउँदा पनि सलमानको स्टारडमले कुनै रेकर्ड ब्रेक गर्न सकेन । सिनेमाले ‘धुम ३’ ले पहिलो दिनमा कमाएको ३६ करोडको आँकडालाई पार गर्ने आशा गरिएको थियो । ‘चेन्नई एक्सप्रेस’ले पहिलो दिनमा ३३ करोड कमाएको थियो । तर सलमानको नयाँ सिनेमाले २ दिनमा करिब ३९ करोडको आँकडा छोएको छ ।
सिनेमाले शुक्रबार भारतका ४३ सय पर्दामा जम्मा १७.५५ करोडको कलेक्शन गर्दै कमजोर ओपनिङ गरेको हो । सिनेमाले शनिबार २२ करोडको व्यापार गरेको वुझिएको छ । सिनेमालाई १ सय करोडको आँकडा छुनलाई १० दिन भन्दा बढि लाग्ने देखिएको छ । सलमान खानको सिनेमाले गतिलो व्यापार नगरेपछि उनको स्टारडममा ठूलै धक्का लागेको अनुमान गरिएको छ । यतिबेला बलिउडमा आमिर र साहरुखको सिनेमाले २ सय करोडको व्यापार गरेको अवस्था छ । यसैले पनि सलमानलाई यो आँकडा छुन अत्यन्त आवश्यक थियो । तर २ सय करोडको आँकडा सलमानका लागि धेरै परको बिषय बन्ने देखिन्छ ।
नेपालमा पनि सलमानको सिनेमाले गतिलो व्यापार गरेका छैन । डेढ करोड भन्दा माथिको लगानीमा नेपाल भित्राइएको यो सिनेमाले शुक्रबार २० लाख सेरोफेरोको आँकडा छोएको छ । यो साहरुखको ‘चेन्नई एक्सप्रेस’ र आमिरको ‘धुम ३’ को कलेक्शन भन्दा निक्कै कम हो । बलिउडमा ३ खानको बर्चस्व रहेको देखिन्छ । तर ‘जय हो’को कलेक्शनले सलमानलाई साहरुख र आमिर भन्दा धेरै पछाडि छोडिदिएको छ ।
Post a Comment