Header Ads

कामना र सिजीले फिल्म अवार्ड गर्ने

अवार्ड हुन लागेको बिषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन नै भव्य देखियो । सिनेमा सम्बन्धी पुरानो पत्रिका कामना मासिकले सिजी ईन्टरटेन्मेन्टको सहकार्यमा गर्न लागेको कामना फिल्म अवार्डको सुरुवात नै कलाकारहरुको नृत्यबाट भयो ।'

शंकर बीसीको टिमले पत्रकार सम्मेलनमा आकर्षक नृत्य गरेर आकर्षण थप्ने काम गर्‍यो । कामना मासिक ३० बर्ष पुगेको अवसर पारेर अवार्डको आयोजना गर्न लागिएको हो । वि.सं २०७० साल बैशाख १ देखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका सिनेमाले अवार्डमा प्रतिस्पर्धा गर्नेछन् । अवार्डका हरेक गतिविधीलाई पारदर्शी बनाउने विश्वास आयोजकले दिएको छ ।
कार्यक्रममा बोल्दै कामना मासिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले नेपाली चलचित्र उद्योगको गुणात्मक विकास, चलचित्रकर्मीको उचित सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहित गर्दै नेपाली चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्न अवार्डको थालनी गरेको बताए ।
यस्तै सिजी इन्टरटेन्मेन्टका अध्यक्ष तथा उद्योगपति बसन्त चौधरीले भोली गएर कामना अवार्ड नेपाली चलचित्र जगतकै महाकुम्भको रुपमा परिणत हुने बताए । उनले हरेक बर्ष यो अवार्ड एउटै मितिमा आयोजना हुने पनि खुलाए ।
काठमाण्डौको सोल्टी होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कामना न्यूज पब्लिकेशनका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले अवार्ड कार्यक्रमले पुराना र नयाँ पुस्तावीचको खाडल पुर्ने विश्वास व्यक्त गरेका थिए । कामनाका सम्पादक विदुर गिरीले अवार्ड विजेताहरुले मात्र नभई वञ्चित हुनेहरु पनि खुशी रहने तरिकाले यो अवार्ड हुने बताए ।
कामना अवार्डमा ३१ विधा समावेश गरिएको छ । जसमा सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हाँस्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, नृत्य निर्देशन, ध्वनी मिश्रण, पाश्र्व संगीत, द्वन्द्व निर्देशन, श्रृङगार छन् । यस्तै एक लाख नगद सहित एकजना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ ।
यस्तै अवार्डमा सिजी संगीत क्रिटिक्स अवार्ड, सिजी फेशन क्रिटिक्स अवार्ड र सिजी नाटक क्रिटिक्स अवार्ड पनि समावेश गरिएको छ । कुनै फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमको संचालन नायिका करिश्मा मानन्धरले गरेकी थिइन् ।

No comments

Powered by Blogger.