आजै हो पिस्करमा वीरबहादुर र इलेले ज्यान गुमाएको दिन पिस्कर हत्याकाण्डका ३१ वर्ष
१ माघ, काठमाडौं । निरंकशु पञ्चायती व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले सिन्धुपाल्चोको पिस्करमा साहदात प्राप्त गरेको आज बुधबार ३१ वर्ष पूरा भएको छ । पञ्चायती शासकविरुद्ध संघर्षको विगुल फुकेका पिस्करबासीविरुद्ध प्रहरीले दमन गर्दा साहदत प्राप्त गरेका योद्धालाई प्रत्येक वर्ष माघ १ गते सम्झने गरिन्छ ।
पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन छेडेको तत्कालीन नेकपा (माले) ले आफ्नो गतिविधिलाई पिस्करमा केन्द्रित गरेका बेला ०४० साल माघ १ गते बिहान प्रहरीले गरेको दमनका क्रममा दुईजना पिस्करबासी थामी युवाले ज्यान गुमाएका थिए ।
यसरी भएको थियो पिस्कर काण्ड
पिस्करको महादेवस्थानमा लगाइएको संक्रान्ति मेलामा नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी प्रहरीले दमन गरी गोली चलाउँदा २जनाको घटनास्थलमै ज्यान गएको थियो भने दजर्नौ सचेत नागरिक घाइते हुन पुगेका थिए ।
संक्रान्ति मेलामा रमाइरहेका पिस्करबासीमाथि पञ्चायती शासकका २ सय बढी प्रहरीले धावा बोलेर गोली चलाउँदा वीरबहादुर थामीले घटनास्थलमै ज्यान गुमाएका थिए । प्रहरीले दमनका क्रममा इले थामीको हत्या गरेर दाबीखोला किनारमा उनको लाश स्याउलाले छोपेर छोडेका थिए ।
निरंकुश शासकहरुविरुद्ध आन्दोलनको शंखघोष गरेका थामी समुदायका दर्जनौं स्थानीयलाई दमन गरेर घाइते बनाएको थियो । प्रहरीले दमनपछि पल्कमाया थामी, साङडोल्मा थामी, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्षमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा, छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल र गोपाल थपलियालाई गिरफ्तार गरेको थियो । । प्रहरीले गिरफ्तारीमा परेकाहरुलाई काठमाडौं, चौतारा, वीरगन्ज र भैरहवालगायतका जेलमा हालेका थिए । पिस्कर हत्याकाण्डपछि पञ्चायती शासकले लगातार दमनको श्रृंखला जारी राखेका थिए ।
पिस्कर हत्याकाण्डलाई सम्झदैं एमाले नेता बोहरा सहिदहरुको सपनालाई अब संस्थागन गर्नुपर्ने बताउँछन् । ‘पिस्कर हत्याकाण्ड स्मृति दिवस लोकतान्त्रिक अधिकार प्राप्तिको उज्यालो छर्ने दिन हो, परिवर्तन र जनाधिकारका निम्ति संघर्षको विगुल फुकेको दिन हो’, बोहराले भने, ‘हामीले सहिदको साँच्चिकै सम्मान गर्ने हो भने उनीहरुको बलिदानीलाई सम्मान गरे पुग्छ ।’
पिस्कर हत्याकाण्डमा ज्यान गुमाएका वीरबहादुर थामी र इले थामीको रगत त्यतिकै खेर गएन । त्यहाँबाट सुरु विद्रोहको आगो देशभर फैलँदै गएपछि ०४६ को जनआन्दोलको आधार बनेको थियो ।
बोहोरा भन्छन्, पिस्कर पहिलेजस्तो छैन
पिस्कर हत्याकाण्डलाई सम्झँदै एमाले अनुशासन आयोगका संयोजक अमृतकुमार बोहरा त्यहाँका समुदायले देखाएको बहादुरी र विद्रोह नै ०४६ सालको जनआन्दोलनको जग भएको बताउँछन् ।
‘पिस्करका आदिवासी जनजाति र अन्य समुदायका बहादुर योद्दाहरुले हिम्मत गरेकाले नै ०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको हो’, बोहोराले भने ‘पिस्करमा सहिदहरुले बगाएको रगत र उनीहरुको सपना पूरा गर्न जनतालाई अधिकारसम्पन्न बनाइनुपर्छ, अझै पनि जनता अधिकार सम्पन्न हुन सकेका छैनन्, यसतर्फ सबै दलहरु गम्भीर हुनु जरुरी छ ।’
पिस्करबासीले गरेको त्याग र बलिदानीको सम्मान गर्दै सरकारले पिस्करमै सहिद स्मृति पार्क निर्माण गरिदिएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि पनि परिवर्तनको आभाष गर्न नसकेका पिस्करबासीले अब भने राज्यको मूलधारमा गाँसिन थालेको बताउँछन् नेता बोहोरा ।
‘०४६ सालको परिवर्तनपछि पनि पिस्करबासीले परिवर्तनको आभाष गर्न नपाएका हुन्, हामीले नै संघर्ष गरेर त्यो बेला बलिदानी दिने दुवैजनालाई राष्ट्रिय सहिद घोषणा गराउन सक्यौं’, नेता बोहोराले भने, ‘पिस्कर पहिलेजस्तो छैन, न्यायप्रेमीले पिस्कर पुग्दा गर्व गर्नेछन्, हिजोसम्म शिक्षा, स्वास्थ्य र विद्युत्त नभएको पिस्करमा आज ती पूर्वाधार पुगेका छन्, ढिलै भएपनि राज्यले पिस्करबासीको बलिदानीको कदर गर्दैछ ।’
कुनै बेला विकासका कुनै पनि पूर्वाधार नभएको पिस्करमा अहिले अस्पतालस्तरको स्वास्थ्य संस्था, माध्यमिक विद्यालय, विद्युत्त, सहिद स्मृतिपार्कजस्ता संरचना तयार भएको दलहरुको भनाइ छ । अहिले काठमाडौंबाट पिस्करसम्म सिधा बस सेवा चल्न थालेको छ ।
परिवर्तनका लागि बलिदानी गर्ने सहिदका छोराछोरीलाई पठनपाठनको व्यवस्था गरिएको नेताहरु बताउँछन् । पिस्करवासीमा बढेको सचेतनाकै कारण यही वर्षबाट पिस्कर खुला दिसामुक्त गाविस घोषित भएको छ ।
Post a Comment