तलबभत्ता गाउँको विकासमा खर्चने सभासद खड्काको घोषणा
१० मंसिर, संखुवासभा । संखुवासभा २ बाट विजयी सभासद नेपाली कांग्रेसका सभासद दीपक खड्काले राज्यबाट पाउने तलब भत्तासहितका सबै सुविधा सो क्षेत्रका १४ वटा गाविसको विकासमा खर्चने घोषणा गर्नुभएको छ । ’राज्यले दिने संसद विकास कोषको बजेट तथा आफ्नो तलब भत्तासमेत यस क्षेत्रको विकासमा लगाउने छु’, विजयी सभालाई सम्वोधन गर्दै खड्काले भन्नुभयो ‘मलाई जनताले भोट दिएर जिताउनुभएको बदला मैले पाउने सबै सुविधा यसै क्षेत्रको विकासमा लगाउाछु ।’
सभासद खड्काले यस क्षेत्रको चैनपुरसहितका विभिन्न गाविसमा आयोजित विजय सभालाई सम्वोधन गर्दै यस क्षेत्रको विकासका लागि यहीं नै सचिवालय स्थापना गरिने घोषणा गर्नुभयो । ’म अन्य पार्टीका सभासदहरुले जस्तो काठमाडौंमा घर बनाएर बस्दिन, यसअघिका सभासदले जनताका लागि केही गर्न सकेनन्’, सभासद खड्काले भन्नुभयो, ‘मलाई जनताले दिएको जिम्मेवारी जनतासँगै बसेर पूरा गर्नेछु ।’
२०१५ सालमा लिलानाथ दाहालले नेपाली कांग्रेसबाट जितेको ५५ वर्षपछि कांग्रेसले संखुवासभा २ मा बाजी मारेको हो । यसअघि यो क्षेत्रबाट एमालेबाट घनेन्द्र वस्नेत, पर्शुराम मेघी गुरुङ र डम्मर खड्का विजयी बन्नुभएको थियो । ५५ वर्षसम्म एमालेको ‘लालकिल्ला’ रहेको यो क्षेत्रमा कांग्रेसका दिपक खड्का विजयी भएपछि जनताले धेरै अपेक्षा गरेको कांग्रेस कार्यकर्ताहरुको भनाई छ । यस क्षेत्रको मूख्य समस्या सडकको जीर्ण अवस्थामा सुधार, पर्यटनको विकास र अरुण तेश्रोको निर्माण अघि बढाउन खडकाको विषेश भूमिका रहने मतदाता ढुक्क छन् ।
संखुवासभाको आाखीभुईं गाविसमा जन्मनुभएका युवा नेता खड्काले यस क्षेत्रमा गरेको विकासको प्रतिवद्धताले स्थानीयबासी पनि केही आशावादी भएका छन् ।
Post a Comment