Header Ads

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।
श्रीलंकाले अघिल्लो दिन भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० को उपाधि जितेको थियो।
उत्कृष्ट खेलाडीमा भारतका ४, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका २–२ तथा अस्ट्रेलिया, नेदरल्यान्ड्स र श्रीलंकाका १–१ खेलाडी परेका छन्। आइसिसी इमिरेट्स प्यानलका म्याच रेफ्री डेविड बुनको संयोजकत्वमा उत्कृष्ट खेलाडी छनोट गरिएको हो। छनोट समितिमा इमिरेट्स प्यानलका अम्प्यार मारिएस इरासमुस, पाकिस्तान र इङ्ल्यान्डका पूर्वकप्तान क्रमशः वसिम अक्रम र नासिर हुसैन, वेस्ट इन्डिजका पूर्वबलर इआन बिसप र बंगलादेशका वरिष्ठ पत्रकार उत्पल सुभ्रो थिए।

छनोट भएका उत्कृष्ट खेलाडीमा भारतका धोनीसहित, विराट कोहली, रोहित शर्मा र रविचन्द्रन अश्विन छन्। त्यस्तै वेस्ट इन्डिजका डारेन सामी र सामुइल बद्री, दक्षिण अफ्रिकाका जेपी डुमिनी र डेल स्टेयन, श्रीलंकाका लासिथ मालिङ्गा, नेदरल्यान्ड्सका स्टेफन मिबर्ग, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। १२औं खेलाडीमा वेस्ट इन्डिजका क्रिसकुमार सान्तोकी छन्।
‘बलरहरूले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे, त्यसमध्ये तीन प्रभावशाली बलर डेल स्टेयन, सामुइल बद्री र लासिथ मालिङ्गालाई हामीले छनोट गरेका छौं,' आइसिसीको विज्ञप्तिमा अस्ट्रेलियाका पूर्वब्याट्सम्यान बुनले भनेका छन्, ‘यसमा नेदरल्यान्ड्सका ओपनिङ ब्याट्सम्यान स्टेफन मिबर्ग पनि छन्। तीन अलराउन्डरमध्ये महेन्द्रसिंह धोनी विकेटकिपर/ब्याट्सम्यान हुन्।'
भारतका अमित मिश्रा, पाकिस्तानका अहमद शेहजाद, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र इमरान ताहिर, श्रीलंकाका एन्जेलो म्याथ्युज र रंगना हेराथ तथा वेस्ट इन्डिजका डारेन ब्राभो र सुनील नारिनलाई उत्कृष्ट खेलाडी सूचीबाट बाहिर राख्ने निर्णय निकै कठिन भएको छनोट समितिले जनाएको छ।

No comments

Powered by Blogger.