Header Ads

बेस्ट टिमविरुद्ध ड्रिम टिम


काठमाडौ, माघ २५ - सहिद स्मारक 'ए' डिभिजन लिग २०६९ मा लक्ष्मी बैंक थ्री-स्टारले चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीलाई १-० ले हराएर प्रारम्भिक चरणमा ७ अंकको अग्रता लिएको थियो । थ्री-स्टारले सुपरलिगका ७ खेलमा जम्मा ८ अंक मात्र जोड्यो र मनाङभन्दा २ अंक अगाडि रहँदै च्याम्पियन बन्यो । उसलाई च्याम्पियन यात्राको मुख्य आधार प्रारम्भिक चरणकै अग्रता थियो । प्रारम्भिक चरणको अन्तिम खेलमा थ्री-स्टारलाई मनाङले रोकेको भए उपाधि होड खुला हुने थियो । अहिलेको लिग पनि ठीक उस्तै मोडमा आइपुगेको छ । यस्तोमा फेरि एकपल्ट थ्री-स्टार र मनाङ भिड्दैछन् ।

यसपल्ट मनाङ लयमा छ । उसको अग्रता ४ अंक छ । थ्री-स्टारविरुद्ध शनिबार ३ अंक खोस्नसके उपाधि होडमा मनाङ एक्लो घोडाजस्तै हुनेछ । जसरी गत वर्ष थ्री-स्टार अघि बढेको थियो । थ्री-स्टारले मनाङलाई पराजित गर्नसके उपाधि होड खुला हुनेछ र सुपरलिगमा रोमाञ्चक प्रतिस्पर्धाको आस गर्न सकिनेछ । बराबरी नतिजाले पनि मनाङलाई 'पोल पोजिसन'मा बलियै राख्नेछ । त्यो स्थितिमा थ्री-स्टारको उपाधि रक्षा गर्ने अभियान कमजोर बन्नेछ ।

खस्किएको लिगलाई अंकको हिसाबमै भए पनि रोमाञ्चक बनाउन थ्री-स्टारले मनाङलाई रोक्नु जरुरी छ । थ्री-स्टारसँग मनाङलाई रोक्न सक्ने योग्यता पनि छ । तर, मनाङ यो लिगकै सबैभन्दा राम्रो खेल पस्किरहेको टिम हो । अर्थात 'बेस्ट टिम' । उसले हारेको वा बराबरीमा रोकिएको खेलमा पनि आक्रमणको जालो बुनेको थियो ।

युवा प्रतिभा सुलभ मास्केदेखि विशाल श्रेष्ठ, दीपक राई, अनिल गुरुङ राष्ट्रिय टिमका कप्तान सागर थापा हुँदै अनुभवी नवीन न्यौपानेको संयोजन मनाङमा छ । बलिया अफ्रिकीहरू डिफेन्समा लियोनल स्टेफेन र सहिद अजिज तथा फरवार्डमा योना इलियसको पनि साथ छ । चौथो रोजाइका युसुफ अलिभ पनि कामयाव हुनसक्छन् । उनीहरूको मिहिनेतमा मनाङ आठ खेलयता अपराजित छ । त्यो यात्रा जारी राख्ने/नराख्ने उनीहरूमै निर्भर छ ।

खेलाडीको व्यक्तिगत कौशलका आधारमा भने थ्री-स्टार राम्रो छ । राष्ट्रिय टिमका ७ खेलाडीसहित स्टारहरूले भरिएको थ्री-स्टार नेपाली फुटबलमा 'डि्रम टिम' जस्तै छ । त्यसैले शनिबारको भिडन्तलाई 'बेस्ट टिमविरुद्ध डि्रम टिम' भने फरक पर्ने छैन । थ्री-स्टारमा आइभरिकोस्टका फरवार्ड

जिकाह डोडोज, प्रभावशाली मिडफिल्डर क्यास्टोरी मुम्बारा र नाइजेरियन डिफेन्डर सहिद एनिफोवोसे समावेश छन्  । उनीहरू यो लिगकै उत्कृष्ट विदेशी खेलाडीमा पर्छन् ।

गोलकिपर किरण चेम्जोङ, डिफेन्डर सन्दीप राई, विराज महर्जन, विंगर जगजित श्रेष्ठ र फरवार्ड कप्तान सन्तोष साहुखल थ्री-स्टारका नेपाली मेरुदण्ड हुन् । तर, लिगमा थ्री-स्टारको प्रदर्शन एकनासको छैन । कहिले औसत त कहिले झुर । उसले सात खेलयता अंक गुमाउन नपरे पनि क्षमताअनुसारको खेल देखाएको छैन । मनाङ पनि पूर्ण क्षमताअनुसार शतप्रतिशतको नजिक पुगेको छैन ।

अफ्रिकी खेलाडीहरूले एकपछि अर्को गर्दै निणर्ायक भूमिका निभाइरहेको लिगमा सम्भवतः मनाङविरुद्ध थ्री-स्टारको खेल पनि पृथक् हुने छैन । यो प्रसंगमा दुवै टिम आमनेसामने हुँदा समानस्तरको हुनेछ । कारण दुई पहेंलो कार्ड बेहोरेका थ्री-स्टारका प्लेमेकर मुम्बारा मनाङविरुद्ध मैदानमा ओर्लने छैनन् । यस्तोमा मिहिनेत गरेर नेपाली खेलाडीलाई हिरो बन्ने अवसर छ । दुवै टिममा गोलका निम्ति फरवार्ड नै कुर्नुपर्ने स्थिति पनि छैन ।

के भन्छन् प्रशिक्षक ?

एक खेल बढी खेलेका पुलिस र संकटा ४ अंक अन्तरमा भए पनि मनाङका प्रशिक्षक हरिओम श्रेष्ठ थ्री-स्टारलाई नै उपाधि होडमा मुख्य प्रतिद्वन्द्वी मान्छन् । 'उसलाई हराएर ७ अंकको अग्रतासाथ सुपरलिग खेल्न चाहन्छौं । यस्तो सम्भव भयो भने हामीले लिग जित्ने ९० प्रतिशत पक्का हुनेछ,' उनले भने । ११ औं चरणमा आर्मीविरुद्ध बराबरीमा रोकिँदा उपाधि होडमा ठूलो धक्का लागेको थ्री-स्टारका प्रशिक्षक अञ्जन केसीले बताए । 'अब शीर्षस्थानको मनाङलाई हराएर उसको नजिक पुग्न चाहन्छौं,' उनले भने ।

टिम निर्माणसँगै सर्वाधिक लोकपि्रय र खर्चालुमा नम्बर १ क्लबको होडमा निरन्तर प्रतिस्पर्धा गरिरहेका मनाङ र थ्री-स्टारको नतिजामा यो लिगको उपाधि होड निर्भर भएको मान्छन्, पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ । 'थ्री-स्टारले जिते उपाधि होडमा अरूलाई पनि अवसर हुनेछ । मनाङले सफलता हात पारे सुपरलिगमा दोस्रो स्थानका लागि मात्र प्रतिस्पर्धा हुनेछ ।

इतिहास

थ्री-स्टार र ठमेल ११ को झगडाकै कारण ३१ वर्षअघि जन्मेको क्लब हो, मनाङ । त्यसैले यी दुईको दुस्मनी मैदानबाहिर पनि चर्किने गर्छ । 'ए' डिभिजन लिगको लिखित इतिहास २०४६ देखि मात्र भेटिएको छ । त्यसैले २०४६ यताका लिगलाई 'आधुनिक लिग'

भनिन्छ । आधुनिक लिगमा मनाङ र थ्री-स्टार १५ पल्ट भिडेका छन् । त्यसमा मनाङले ६ र थ्री-स्टारले ४ खेल जिते । ५ खेल बराबरीमा टुंगिए । यी दुई २०५२ मा आमनेसामने हुनुपरेन ।

लिगमा मनाङ र थ्री-स्टारको भिडन्तमा औसत २ गोल मात्र भएको छ । मनाङले १७ र थ्री-स्टारले १३ गोल गरेका छन् । मनाङ पाटने क्लबमाथि २०६३ को पहिलो लेगसम्मै हावी भयो । त्यो खेलसम्म मनाङ हारेको थिएन । दोस्रो लेगमा २-१ को जित निकालेदेखि थ्री-स्टारको पक्षमा पासा पल्टिएको छ । त्यसयता थ्री-स्टार लिगमा मनाङसँग हारेको छैन ।

नकआउटमा २०७० को भेटमा भने मनाङले २ र थ्री-स्टारले १ खेल जितेका छन् । गोर्खा, किङ्स (भुटान), सफल पोखरा र एनसेल कप विजेता मनाङलाई सिक्किममा हराएर मंसिर ७ गते थ्री-स्टारले गभर्नर्स गोल्डकप जितेको थियो । यी दुईको पछिल्लो भिडन्त त्यही हो ।


लिग २०७० मा थ्री-स्टार

गोल    प्रतिद्वन्द्वी

३-१    ब्वाइज युनियन

०-२    जावलाखेल

२-१    एपीएफ

०-१    संकटा

२-२    हिमालयन शेर्पा

१-०    सरस्वती

३-०    आरसीटी

२-१    पुलिस

२-२    मछिन्द्र

२-०    फ्रेन्ड्स

१-१    आर्मी

'ए' डिभिजन लिगमा मनाङविरुद्ध थ्री-स्टार

    २०४६    मनाङ २-० थ्री-स्टार

    २०५४    मनाङ १-१ थ्री-स्टार

    २०५७    मनाङ २-० थ्री-स्टार

    २०६०    मनाङ १-० थ्री-स्टार

    २०६१    मनाङ १-१ थ्री-स्टार

        मनाङ २-२ थ्री-स्टार

    २०६२    मनाङ १-१ थ्री-स्टार

        मनाङ १-० थ्री-स्टार

    २०६३    मनाङ ३-० थ्री-स्टार

        मनाङ १-२ थ्री-स्टार

    २०६६-६७    मनाङ १-० थ्री-स्टार

        मनाङ ०-३ थ्री-स्टार

    २०६८    मनाङ ०-१ थ्री-स्टार

    २०६९    मनाङ ०-१ थ्री-स्टार

        मनाङ १-१ थ्री-स्टार


लिग २०७० मा मनाङ

गोल    प्रतिद्वन्द्वी

१-०    ब्वाइज युनियन

३-०    एपीएफ

१-२    हिमालयन शेर्पा

४-०    आरसीटी

१-०    मछिन्द्र

१-१    आर्मी

३-०    जावलाखेल

२-०    संकटा

२-०    सरस्वती

१-१    पुलिस

४-०    फ्रेन्ड्स

No comments

Powered by Blogger.