विश्व फुटबल महामेला आजदेखि
काठमाडौं : फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल बिहीबार रातिदेखि ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएसियाबीच नेपाली समयअनुसार राति १.४५ बजे हुनेछ। त्यसअघि करिब आधा घन्टा चल्ने उद्घाटन समारोहमा ब्राजिलको परम्परा झल्कने विभिन्न कार्यक्रम प्रस्तुत गरिनेछ।
एक महिनासम्म चल्ने प्रतियोगितामा विश्वका ३२ देशका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विश्वकप फुटबलको यो २० औं सस्करण हो। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ब्राजिलले जनाएको छ। ब्राजिल विश्वकपको हरेक संस्करणमा सहभागी हुँदै आएको छ। ब्राजिल सर्वाधिक पाँचपटक उपाधि विजेता पनि हो। सन् १९५० पछि पहिलोपटक ब्राजिलमा विश्वकप हुन लागेको हो। विश्वकप सुरक्षाका लागि एक लाख प्रहरी र ५७ हजार सेना परिचालित हुनेछन्।
विश्वकपको १९ औं संस्करणसम्म युरोपेली राष्ट्रले १० पटक र दक्षिण अमेरिकी मुलुकले नौ पटक उपाधि उचालेका छन्। तर युरोपेली मुलुकले दक्षिण अमेरिकामा विश्वकप जित्न सकेका छैनन्। चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप जित्दा स्पेन युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो। यसपटक जर्मनी, स्पेन, ब्राजिल र अर्जेन्टिनालाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। इटाली, नेदरल्यान्ड्स, उरुग्वे, फ्रान्स र इङल्यान्ड पनि बलिया टोली हुन्।
ब्राजिलका १२ वटा सहरमा हुने प्रतियोगितामा कुल ६४ वटा खेल सञ्चालन हुनेछन्। ब्राजिल विश्वकपमा पहिलोपटक 'गोल लाइन' प्रविधि प्रयोग हुने भएको छ। यो प्रविधि लागू भएकाले ब्राजिल विश्वकप विगतको तुलनामा कम विवादित हुने आशा छ।
ब्राजिलियन गाियका क्लाउडिया लेइट्टी वर्ल्डकपको थिम गीतको लागि एक पोज दिदै। |
विश्वकपको समूह 'ए' मा क्रोएसिया, मेक्सिको, क्यामरुन र ब्राजिल छन्। समूह 'बी' मा नेदरल्यान्ड्स, स्पेन, चिली र अस्ट्रेलिया छन्। समूह 'सी' मा कोलम्बिया, ग्रिस, आइभोरी कोस्ट र जापान छन्। ग्रुफ अफ डेथका रूपमा हेरिएको समूह 'डी' मा उरुग्वे, कोस्टारिका, इङल्यान्ड र इटाली छन्। समूह 'ई' मा स्स्विट्जरल्यान्ड, इक्वेडर, फ्रान्स र होन्डुरस तथा समूह 'एफ' मा अर्जेन्टिना, बोस्निया हर्जगोभिना, इरान र नाइजेरिया छन्। यसैगरी समूह 'जी' मा जर्मनी, पोर्चुगल, घाना र अमेरिका तथा समूह 'एच' मा बेल्जियम, अल्जेरिया, रूस र दक्षिण कोरिया छन्। हरेक समूहबाट दुई शीर्ष टिम प्रिक्वार्टरफाइनलमा पुग्नेछन्। प्रिक्वार्टर फाइनलदेखिको खेल नकआउटका आधारमा हुनेछन्।
यसपटक बोस्निया पहिलोपटक विश्वकपमा छानिएको टिम हो। प्रतियोगिताको अर्को विशेषता भनेको यो विश्वकपमा पूर्वविजेताहरू सबै सहभागी छन्। यसअघि उपविजेता भएका हंगेरी, स्विडेन र चेक गणतन्त्र (तत्कालीन चेकोस्लोभाकिया) भने विश्वकपका लागि छानिन सकेनन्।
उद्घाटन समारोह साउपाओलोस्थित डे एरिना साउपाओलो रंगशालामा हुनेछ। उक्त रंगशालाको दर्शक क्षमता ६२ हजार छ। तर आमदर्शक भने रंगशालामा करिब २५ हजार मात्र हुनेछन्। अन्य आमन्त्रित विशिष्ट व्यक्तिहरू हुनेछन्। एक हजार सिट विशिष्ट विदेशी पाहुनालाई सुरक्षित राखिएको छ।
विश्वकप विजेताले तीन करोड ५० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ। यसैगरी दोस्रो हुनेले दुई करोड ५० लाख अमेरिकी डलर जित्नेछ। तेस्रो हुनेलाई दुई करोड २० लाख अमेरिकी डलर पुरस्कार दिइनेछ। १८ क्यारेट सुनले बनेको ६ किलो एक सय ७५ ग्राम तौल भएको विश्वकप ट्रफी कसले उचाल्ने हो त्यो भने विश्वभरका फुटबल समर्थकका लागि एक महिनासम्म कौतूहलकै विषय रहनेछ।
विश्वकपको ३३ लाख टिकट बिक्री गर्ने लक्ष्य आयोजक ब्राजिलको छ। ३० लाख टिकट बिक्री भइसकेको छ।
ब्राजिलले पाँचपटक, इटालीले चारपटक, जर्मनीले तीनपटक, अर्जेन्टिना र उरुग्वेले दुईपटक तथा स्पेन, फ्रान्स र इङल्यान्डले एकएक पटक विश्वकपको उपाधि जितेका छन्।उद्घाटन समारोहमा ब्राजिलकी राष्ट्रपति डिल्मा रोसेफ, विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरलगायत विश्वका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन्। उद्घाटनमा विश्वकपको आधिकारिक गीत गाएका तीनजनामध्ये जेनिफर लोपेजको प्रस्तुति रहने छैन। अन्य दुईजना टिबल र क्लाउडिढो लिट भने सहभागी हुनेछन्। उदघाट्नको आक र्षण ९० हजार बल्बले बनाइएको विशाल फुटबल पनि हुनेछ। त्यस अवसरमा पक्षघात भएका व्यक्तिले रोबटको सहायताले फुटबल खेलेर विश्वलाई चकित बनाउनेछन्। 'फेरी हिँड' नाम दिइएको उक्त अवधारणालाई मूर्तरूप दिन एक सयजना वैज्ञानिक लागिपरेका थिए। -एजेन्सीहरू
Post a Comment