यसरी उठ्यो अनामनगरमा सरस्वतीको चोला
१६ पुस, काठमाडौं । अनामनगरस्थित कृष्ण प्रसाईको पाँचतले घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते दिउँसो घरको माथ्लो तलामा मृत अवस्थामा फेला परिन् । उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
‘पहिले प्रहरीले किटानी जाहेरी लिनै मानेन । घरबेटीले २ लाख रुपैयाँ दिने भनेका छन्, आपसमा मिल भनेर प्रहरीले जोड गर्यो । तीनदिनसम्म प्रयास गर्दा पनि जाहेरी लिन मानेन, संघसंस्थाले आवाज उठाएपछि बल्ल जाहेरी दर्ता भएको छ ।’-मृतक सरस्वतीकी बहिनी सुमित्रा राउत सुवेदीले अनलाइनखबरलाई भनिन् ।
को थिइन् सरस्वती ?
मोरङ्गको डाँगीहाट माइत भएकी सरस्वती सुवेदी (अधिकारी) ३१ वर्षकी युवती भएता पनि ७ वर्ष पहिले, अर्थात् २४ वर्षकै उमेरमा विधवा बनेकी थिइन् । श्रीमानले संसार छाडेर जाँदा नासोको रुपमा छाडेकी दुई वर्षीया रिया अधिकारी अहिले ९ वर्ष पुगेकी छन् ।
श्रीमान् बितेको एक वर्षपछि तीन वर्षीया छोरी लिएर सरस्वती काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाई (हाल ५० वर्ष) का घरमा घरेलु कामदार बनेर प्रवेश गरेकी हुन् । पाँचतले घरको भुँईमा बनाइएको टहरामा सरस्वतीका आमाछोरी बस्दै आएका थिए । सरस्वतीले प्रसाईका घरमा लुगाधुने, सरसफाइ गर्ने, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्दै आएकी थिइन् । सरस्वतीका माइतीसमेत काठमाडौंको घट्टेकुलोमा डेरा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका काररण सरस्वतीकी बहिनी सुमित्रा पनि अर्काकै घरमा काम गर्छिन् । तर, सुमित्रा दिदीजसरी आवासीय कामदार नभई आफ्नै डेरामा बसेर घट्टेकुलोका विभिन्न घरहरुमा लुगा धुन र सरसफाइ गर्न जान्छिन् । अर्काकोमा काम गरेरै सुमित्राले आफ्नो परिवार पालेकी छन् ।
घटना विवरण
मृतकका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार मंसिर ३० गते बेलुका साढे ४ बजेतिर घरबेटी साबित्री प्रसाई (४२ वर्ष) स्कुटर लिएर घट्टेकुलोमा रहेका सरस्वतीका पिता ६५ वर्षीय खड्ग अधिकारीको डेरामा पुगिन् । उनले केही पनि नबोली अधिकारीलाई स्कुटरको पछाडि बस्न इशारा गरिन् र अनामनगरस्थित आफ्नो घरमा ल्याइन् । अधिकारी घोरी बस्ने टहरामा छिर्न खोज्दा शावित्राले उनलाई छतमा लिएर गइन्, जहाँ प्रहरीहरु र अन्य केही मानिसहरु थिए । ढोकाको भित्र र बाहिर हुनेगरी सरस्वतीको लास उत्तानो अवस्थामा थियो । घरबेटी कृष्ण प्रसाईले अधिकारीलाई भने, तपाईकी छोरीले भुण्डिएर आत्महत्या गरिछन् । बाथरुमको ढोका भित्रबाट थुनिएको र आफूहरुले चुकुल फुटाएर भित्र पसी घाँटीमा लगाएको सलको पासो खोलिदिएको घरबेटीको तर्क थियो ।
सरस्वतीकी बहिनी घटनास्थल आइपुगिन् । तल गेटमा मानिसहरु भेला हुन थालेका थिए । प्रहरीले उनीहरुलाई घरभित्र जान रोकिरहेको थियो । त्यसपछि प्रहरीले मुचुल्का खडा गरेर शव हुनमानढोका पुर्यायो । मृतककी बहिनी पनि प्रहरीसँगै हनुमानढोका पुगिन् । घटनापछि मृतकका परिवारले तत्कालैबाट आत्महत्या भएकोमा आफूहरुलाई पत्यार नलागेको भन्दै मुचुल्कामा सही गर्नसमेत मानेनन् । हनुमान ढोकाबाट फर्कने क्रममा घरबेटी शावित्राले मृतककी बहिनीलाई सानी छोरीको लालन पालनसम्बन्धी सम्पूर्ण खर्च ब्यहोर्ने बताउँदै मुद्दा मामिलातिर लागेमा त्यो पनि नपाउने बताएको सुमित्राको दाबी छ ।
घटनाको तीनदिनपछि पोष्टमार्टम सम्पन्न भयो । तर, पोष्टमार्टममा विश्वास नलागेको भन्दै पीडितले आन्दोलन गरेपछि सरकारले पुन पोष्टमार्टम गर्न निर्देशन दिइसकेको छ । ‘तर, डाक्टरहरुले दोहोर्याएर पोष्टमार्टम गर्न मानेका छैनन् ।’ सुमित्रा भन्छिन् ।
मान्छे मरेपछि के गर्ने ?
कुनै पनि स्थलमा मानिसको मृत्यु भएपछि के गर्ने भन्नेमा न त सरस्वतीका घरबेटीले सजगता अपनाएको पाइन्छ, न प्रहरीले नै । कसैको घरभित्र काम गर्ने मानिसको मृत्यु भएपछि मृतकका आफन्तले शंका गर्नु अस्वाभाविक होइन । तर, घटनाको निश्पक्ष छानविन होस्, सबैले खुल्लारुपमा जाँचबुझ गरुन् र यथार्थ पत्ता लागोस् भन्नेमा घरबेटीले सजगता नअपनाई मृतकका परिवारलाई तत्कालै मुद्दा मामिला नगर्न र आर्थिक प्रलोभन दिनतर्फ लाग्दा घरबेटी निर्दोष नै थिए भने पनि यस्ता संवेदनशील घटनामा थप आशंका बढ्न जान्छ । कसैको मृत्यु भएको देखपछि या शंका भएपछि आफैंले जाँचत्रुझ गर्नेतिर लाग्नुभन्दा तत्कालै छिमेकी वा प्रहरीको गुहार मागियो भने यस्ता घटनामा परिवन्धमा पर्नबाट जोगिन सकिन्छ भन्नेतर्फ पनि सबैले पर्याप्त ख्याल गर्नेपर्ने देखिन्छ ।
प्रहरीले पनि शोकाकुल परिवारलाई घटनाको निश्पक्ष छानविन हुनेतर्फ भन्दा हतार-हतार पैसाको आश्वासन दिँदै मिलापत्र गराउन जोड गर्दा पीडित परिवारलाई प्रहरी र घरबेटीवीच मिलेमतो रहेको थप शंका जन्माएको घटनाक्रमले देखाएको छ । सरस्वतीको आत्महत्या नै सही, तर ज्यान मरेकोजस्तो अति संवेदनशील विषयमा लासको सद्गति नगर्दै र आत्महत्या हो कि हैन भन्ने तथ्य प्रष्ट नहुँदै हुनमानढोकाका प्रहरी हाकिमले गरिब परिवारलाई दुईलाखको आश्वासन दिनाले यो घटना थप जटिल बन्न पुगेको देखिन्छ ।
सरस्वतीले साँच्चै आत्महत्या नै गरेकी हुन् या उनको मृत्युमा कुनै कैफियत छ ? यो जटिल अनुसन्धानको विषय भएकाले अहिले मिडिया वा कसैले यसलाई हत्या वा आत्महत्या भनेर किटान गर्न मिल्दैन । यसमा सिटौला परिवारको दोष छैन भने निर्दाेषलाई सजायँ गर्न पनि मिल्दैन । तर, सीपी मैनाली, कृष्ण सिटौला र भीष्म प्रसाईसमेतका आफन्त भनिएका घरबेटीसँग अर्काको घरमा मजदुरी गरीखाने निर्धो परिवारले विश्वस्त हुने वातावरण तयार पार्ने कामचाँहि अनुसन्धान अधिकारीहरुको हो ।
सरस्वतीको परिवारलाई आफ्नी छोरी वा दिदी वा ममीको मृत्यु स्वाभाविक हो भन्ने विश्वास नदिएसम्म यो घटनामा पीडित परिवारले शंकाको सुविधा अवश्यै पाइरहने छ ।
नेताले नै गिजोलेपछि…….
हाम्रो देशमा कुनै पनि घटनालाई निश्पक्ष छानविन हुन नदिने र गिजोलेर झनै शंकास्पद बनाइदिने कार्यमा ठूला भनाउँदा राजनीतिक नेता एवं प्रहरीहरु नै लाग्ने गरेका छन् । पूर्वसभासद् धर्मशिला चापागाईले सार्वजनिक भाषणमै माले अध्यक्ष सीपी मैनालीले सरस्वतीको मृत्युसम्बन्धी घटना सामसुम पार्न आफूलाई टेलिफोनमा दबाव दिएको बताइन् । घटनाबारे प्रहरीले निश्पक्ष छानविन गरोस् भन्नुपर्नेमा नेताहरुले यसरी अनावश्यक चासो दिँदै घटना नचर्काइयोस् या अनुसन्धान नगरियोस् भनेर हस्तक्षेप गर्न थालेपछि पीडितको शंका कसरी हट्छ ?
Post a Comment