स्वदेशी लगानीकर्ता तारे होटलमा, विदेशी लगानीकर्ता जलविद्युतमा उर्जामा हजार प्रतिशतले बढ्यो लगानीको प्रतिवद्धता
१७ माघ काठमाडौं । स्वदेशी लगानीकर्ताले तारे होटलमा लगानीको घोषणा गरिरहेको अवस्थामा विदेशी लगानीकर्ताहरु भने जलविद्युत् क्षेत्रमा लगानी गर्न आकषिर्त भएका छन् । उद्योग विभागले सार्वजानिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो ।   लगानीकर्ताको आकर्षणलाई हेर्दा मुलुकमा लगानीको वातावरण बन्दै गएको विश्लेषण गर्न सकिन्छ । सन् २०१३ मा स्वदेशीलगानीकर्ताले करिब २३ अर्ब रुपैयाँ होटलमा लगानी गर्ने घोषणा गरे । आधा दर्जन ठूला व्यवसायिक घराना चौधरी समूहदेखि बैंकर पृथ्वीबहादुर पाण्डेसम्मले होटलमा लगानी गर्ने घोषणा गरेका छन् । तर, यस अवधिमा विदेशी लगानीकर्ताहरु भने नेपालको जलविद्युततर्फ आकषिर्त भएका छन् । विभागका अनुसार विदेशी लगानीकर्ताले उर्जा क्षेत्रमा हालसम्म ४२ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यो लगानी कुल वैदेशिक लगानीको ३५ दशमलव १३ प्रतिशत हो । हालसम्म कुन क्षेत्रमा कति लगानी ?
क्षेत्र               लगानी (लाखमा)                                         हिस्सा
उर्जा              ४२८८०.५०                                                  ३५.१२
पर्यटन      १३७६७.५०                                                  ११.२८
सेवा             २४९२७.७३                                                  २०.४२
उत्पादन     ३१२४०.७५                                                  २५.५
खनिज    ३७३९.३५                                                   २.०६
निर्माण    २८६२.८१                                                          २.३४
कृषि          २६८३.१०                                                          २.२०
जम्मा १२२१०१.७५                                                  १००
सरकारले उर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले यस क्षेत्रमा लगानी आकषिर्त भएको उद्योग विभागका वैदेशिक लगानी निर्देशक विपिनराज भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।  पछिल्लो समयमा नेपालको जलविद्युत्मा चिनिया लगानीकर्ताहरु आकषिर्त भएपछि अन्य क्षेत्रको तुलनामा यस जलविद्युत् क्षेत्रमा लगानीको आकार बढेको हो ।  विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्र जलविद्युत् क्षेत्रमा १९ अर्ब ९९ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता २ अर्ब १० करोड रुपैयाँको थियो ।  उद्योग विभागको तथ्याङ्क अनुसार पुस मसान्तसम्म उत्पादन क्षेत्रमा ८३९ उद्योगमार्फत ३१ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा ८८७ उद्योगमार्फत २४ अर्ब ९२ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ७४२ उद्योगमार्फत १३ अर्ब ७६ करोड रुपैयाँ लगानीको प्रस्ताब आएको छ ।  त्यसैगरी, खनिज क्षेत्रमा ५३ उद्योगमार्फत् ३ अर्ब ७३ करोड रुपैयाँ निर्माण क्षेत्रमा ४३ उद्योगमार्फत २ अर्ब ८६ करोड रुपैयाँ र कृषि क्षेत्रमा १४८ उद्योगमार्फत २ अर्ब ६८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । यी उद्योगको कुल परियोजना लागत २ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी रहेको छ । विभागका अनुसार बाँकी रकम स्वदेशी लगानीकर्ताले लगानी गर्नेछन् ।

Post a Comment