सुनिलले उडाए ‘हेलीकोप्टर’ (फोटो सहित)
एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए । ‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।
यान आकाशमा केहीबेर उडेर पुनः पहिले राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।
सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’
‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’
आकासमा उडेको चिललाई पछ्याउँदै क्वाडकोप्टर
आविस्कारक युवा के भन्छन् ?
आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए । सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने उनको भनाइ छ ।
‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२ कक्षासम्म पढेका छन् ।
सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१० वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७ वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा यसैगरी भीडियो खिचेको छु ।’
सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर ।
‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने ।
सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।
सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर । जसमा नेपालको झण्डा समेत छ ।



Post a Comment